Home / Nepal / News / टेस्लाले एक वर्षमै बेच्यो झन्डै पाँच लाख विद्युतीय कार

टेस्लाले एक वर्षमै बेच्यो झन्डै पाँच लाख विद्युतीय कार

वासिङटन : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ। कम्पनीले सन् २०२० मा करिब पाँच लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो। वर्षभरिमा चार लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ।

टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन्। मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आँकलन गरे पनि ग्राहकले आफ्ना कारलाई अत्यधिक रुचाएको बताएका छन्।

टेस्लाका मोडेल ३ र मोडेल वाईको बिक्री झन्डै ८६ प्रतिशत रहेको कम्पनीले जनाएको छ। टेस्लाले अत्यन्त आरामदायी मोडेल एस सेडान र मोडेल एक्स एसयुभी पनि उत्पादन गरिरहेको छ। कम्पनीले चीनको साङ्घाई प्लान्टबाट मोडेल वाईको उत्पादन सुरु भएको जनाएको छ।

विश्वकै दोस्रो सर्वाधिक धनी व्यक्ति मस्कले कारका लागि अति आवश्यक ब्याट्रीमा अझ सुधार ल्याउन प्रयत्न भइरहेको बताएका छन्। उनले आम सर्वसाधारणलाई विद्युतीय कारहरु बिक्री गर्न चाहेको बताएका छन्। तीन वर्षभित्रै टेस्लाका कारहरुको मूल्य २५ हजार डलरको आसपासमा ल्याउने टेस्लाको योजना छ।

विद्युतीय कार उत्पादन र बजार हिस्साका दृष्टिमा टेस्लाको उपस्थिति अन्य कार उत्पादकहरु जनरल मोटर्स, फोर्ड, टोयोटा, होन्डा, फिएट क्रिस्लर र भक्सवागनको भन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *