मुम्बई : बलिउड अभिनेत्री शिल्पा सेट्टी करिब एक महिनापछि काममा फर्किएकी छन्। श्रीमान राज कुन्द्राको अश्लील भिडियो प्रकरणकाे सुनुवाइ तय भएसँगै उनी सार्वजनिक रूपमा काममा आएकी हुन्।
उनी पछिल्लो समय भारतको डान्स रियालिटी साे ‘सुपर डान्सर–च्याप्टर ४’ मा निर्णायक टोलीमा छिन्। अन्तत: उनी केही एपिसोडको ग्याप पछि साेमा फर्किएकी हुन् । बलिउड हंगामाका अनुसार उनी साेको मंगलबार (अगस्ट १७) को एपिसोडको छायांकनमा उपस्थित भएकी थिइन्।
योबीच पनि साेकाे निर्माण टिम उनीसँग सम्पर्कमा थियाे। अगस्टको सुरुवातमा उनले आफ्नो पतीको पछिल्लो मुद्दामा विज्ञप्ति जारी गरेकी थिइन्।
जसमा उनले मिडियाले अनावश्यक र बेतुकको हल्ला फैलाएर उनको र परिवारको छवि बिगारेको आरोप लगाएकी थिइन्। यति मात्रै नभई यसले उनलाई पनि अनावश्यक मुछेको र समग्र उनीहरूको व्यवसायमा पनि असर पुगेको गुनासो पोखिन्।






