बैतडी : गत साउन १० गतेदेखि भौतिक रूपमा विद्यालय सञ्चालन गरेको बैतडीको मेलौली नगरपालिकाका विद्यालय कोरोनाभाइरस संक्रमणको जोखिम बढेको भन्दै एक महिनामै बन्द भएका छन्। नगरपालिकाले अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका केही व्यक्तिमा संक्रमण देखिएकाले संक्रमण नफैलियोस् भन्नका लागि विद्यालय बन्द गर्ने निर्णय भएको मेलौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश भट्टले जानकारी दिए ।
अभिभावकमा कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणको जोखिम बढ्दै गएको र चाडपर्वको समय नजिक आएको, विदेशबाट घर फर्किने नागरिकको संख्या पनि बढ्दै गएकाले संक्रमणको जोखिम बढ्दै गएको कारण अर्को सूचना नभएसम्मका लागि भौतिक उपस्थितिमै सञ्चालनमा रहेका विद्यालय बन्द गरिएका छन्।
मेलौली नगरपालिकाले यसअघि गत साउनमा नगर क्षेत्रमा कोरोनाका सक्रिय संक्रमित संख्या शून्य रहेकाले विद्यालय सञ्चालनमा ल्याएको थियो ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले पनि यसअघि सबै स्थानीय तहलाई विद्यालय सञ्चालन नगर्न तथा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न आग्रह गरेको थियो । रासस






