Home / Sports / खेलका क्रममा घाइते भएपछि सावित्रा भण्डारीले बाँकी खेल गुमाउने

खेलका क्रममा घाइते भएपछि सावित्रा भण्डारीले बाँकी खेल गुमाउने

काठमाडौं : सशस्त्र प्रहरी बलको एपीएफ क्लबका महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले खेलका क्रममा घाइते भएपछि विभागीय टोलीका बाँकी खेल गुमाउने भएकी छन्।

भण्डारी सोमबार एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधिनजिक पुर्‍याउने क्रममा खेलको ६९औँ मिनेटमा पुलिसका गोलकिपर उषा नाथसँग ठोक्किएपछि उनी घाइते हुँदै मैदानबाट बाहिरिएकी हुन्। उनको खुट्टामा चोट लागेको छ।

एपीएफका मुख्य प्रशिक्षक भगवती थापाका अनुसार एमआरआई रिपोर्ट आएपछि मात्रै कति समय मैदानबाहिर बस्ने भन्ने बारेमा थाहा हुने छ। हरेकजसो खेलमा गोल गर्दै आएकी भण्डारीले सोमबार भने गोल गर्न सकिनन्।

उनले हालसम्म १० खेलमा ४३ गोल गरेकी छन्। महिला लिगमा हालसम्म कुनै पनि खेलाडीको यही नै उत्कृष्ट खेल प्रदर्शन हो। एपीएफले हालसम्म शतप्रतिशत नतिजा निकाल्दै १० खेलमा ३० अंक जोडेको छ।

एपीएफ लिगको शीर्ष स्थानमा रहँदै उपाधिनजिक पुगेको छ। त्रिभुवन आर्मी क्लबले १० खेलबाट २५ अंक जोडेको छ। आर्मी लिगको दोस्रो स्थानमा छ। एपीएफले अब बुधबार विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ। सोमबारको खेलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *