जाजरकोट : मौरी र सुन्तला ‘जोन’को सफलतापछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप तीन नयाँ जोनको सिफारिस गरिएको छ।
परियोजनाका प्रमुख पिताम्बर बस्नेतका अनुसार नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ। कृषि विकास कार्यालय, सातैवटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको उनले बताए।
नयाँ सिफारिस गरिएको सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएकोमध्येमा पर्दछ। यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापक रूपमा नागरिकको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो। सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरी काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए।
त्यस्तै, जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धान कर्ता पुगेका छन्। सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिक रूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ।






