स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्ज सान्जको कोरोना भाइरस संक्रमणका कारण ७६ वर्षको उमेरमा मृत्यु भएको छ । कोरोना भाइरसको लक्षण देखिएपछि पाँच दिन अघि अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
लोरेन्जोका छोरा फर्नान्डो सान्जले आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । उनले लेखेका छन्, ‘उहाँ मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मेहिनती व्यक्ति हुनुहुन्थ्यो । परिवार र रियल म्याड्रिडप्रति लगाव थियो ।’
रियल म्याड्रिडले पनि उनको निधन भएको पुष्छि गरेको छ । ‘रियल मड्रिड क्लब, यसका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु लोरेन्जो सान्जको निधनबाट दुखित छौं,’ विज्ञप्तीमा भनिएको छ, ‘आज रियल त्यस्तो अध्यक्षको शोकमा छ, जसले यसको इतिहासमा ठूला योगदान गरेका छन् ।’ रियलले परिवार र समर्थकलाई दुःखको घडीमा धैर्यधारण गर्न आग्रह गरेका छ ।
सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । सान्जकै कार्यकालमा रियलले आफूलाई युरोपको प्रभावशाली क्लबका रुपमा स्थापित गरेको थियो ।






