विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन् ।
जसमध्ये दस जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जङ्गली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा छन् ।

रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्– जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् ।
तर, यिनको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।
रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुबस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् ।
खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिन्छन् ।
रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै– सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् ।
यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् ।
नेपालमा सम्भावना भएर पनि पछिल्लो समय दलहन बालीको उत्पादनमा भने ह्रास आइरहेको छ । तराईका समथर फाँटहरूमा भइरहेको भूखण्डीकरणले पनि खाद्य बालीको क्षेत्रफल घटेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।
मौसम अनुकूल हुनुका साथै सिँचाइ, मल–बीउलगायतको उपलब्धता समेत सहज नहुँदा उत्पादन र उत्पादकत्व घटेको समेत दाबी जानकारहरु बताउछन् ।
सामान्य सबैले बुझ्ने भाषामा भन्दा दाल तथा गेडागुडी सम्वन्धी खेतीलाई दलहन भनिन्छ । जस्तै मास, मुसुरो, मस्याङ्ग, गहत, अरहर, चना, केराउ, राज्मा, बोडी, बकुल्ला, सिमी, दाल नेपाली खानाको एक अभिन्न अङ्ग हो ।
नेपालको राष्ट्रिय खाना दाल, भात, तरकारी र अचार पर्छन् । यसमा पनि दाल अगाडी नै आउछ, हो हामी आज दाल पारखी चाँहि सबै छौ तर नेपालमा दालहरु अर्थात दलहन बालीमा चाँहि परनिर्भरता बढेको बढ्यै छ ।
दाल तथा गेडागुडी हाम्रो खानाको एक अभिन्न अंग नै हो भन्दा फरक नपर्ला ।
यिनबाट हाम्रो शरीरको वृद्धि विकासका लागि आवश्यक पर्ने प्रोटिनका साथै अन्य महत्वपूर्ण पोषक तत्वहरू प्राप्त हुने गर्छन् अझ शाकाहारी व्यक्तिहरूको प्रोटिनको आवश्यकतालाई त यीनै गेडागुडीले पूरा गर्न बढी मद्दत गर्छ ।
२/३ दशक अघि ताका भारतलगायत अन्य मुलुकबाट खाद्यान्नलगायतका वस्तुहरू आयात नहुने भएकाले पनि किसानहरू यो बालीको उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे ।
तर, हाल खाद्यान्नको सहज आयातले कृषकहरू रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यान्नले आवश्यक दैनिक खाद्य परिपूर्ति गरिरहेका छन् ।
कृषि प्रधान देश नेपालमा उपभोग्य कृषि उपजहरू आयात भइरहेको कुरा नौलो रहेन । काम गरेर उब्जाएर खानेको भन्दा बेसाएर खानेको रवाफ बढी हुन थालेपछि तीव्र रूपमा आयात बढ्न थालेको हो ।
यस लेखमा दैनिक उपभोग्य खाद्यवस्तु अन्तर्गत र त्यसमा पनि अति महत्त्वपूर्ण रही आएको दाल तथा गेडागुडीको आयात के कस्तो भइरहको छ र कुन कुन देशबाट के कति आयात भएको रहेछ तथ्यांक प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
यसमा भन्सार विभागको आयात तथ्यांकलाई आधार मानिएको छ । दाल तथा गेडागुडी अन्तर्गत यहाँ कोसा छोडाएको सुक्खा कोसे तरकारी, बोक्रा छोडाएको वा नछोडाएको वा दलेको वा नदलेको रूपलाई तथ्यांकीय प्रयोजनका लागि लिइएको छ ।

विगत ५ वर्षमा भएको दाल तथा गेडागुडीको आयात तथ्यांक हेर्दा निरन्तर रूपमा वृद्धि हुँदै गएको देखिन्छ ।
आर्थिक वर्ष २०७०र७१ मा रू. ५ अर्ब ४८ करोड मूल्यको आयात भएकोमा आ व २०७४।७५ मा आइपुग्दा रू. १० अर्ब ६२ करोड मूल्यको आयात भएको छ ।
यस ५ वर्षको अवधिमा मात्र मूल्यका हिसाबले आयातमा झन्डै दोब्बर वृद्धि भएको देखिन्छ ।
विगत ५ वर्षमा भएको दाल तथा गेडागुडीको आयात तथ्यांकको आयात प्रवृत्ति हेरिसकेपछि गत आ व २०७४/७५ लाई थप विश्लेषण गरी हेरौं ।
उक्त आ.व.मा आयात भएको दाल तथा गेडागुडीका रूप वा प्रकारमा सबैभन्दा बढी बोडी (दलेको वा नदलेको) रू. ३ अर्ब २ करोड ६४ लाख मूल्यको आयात भएको थियो ।
यो आयात दाल तथा गेडागुडीको कुल आयात रू. १० अर्ब ६२ करोड ५ लाखको २८ दशमलव ५ प्रतिशत अंश हुन आउँछ । यसैगरी दोस्रो स्थानमा मुसुरो (नदलेको तथा बोक्रासहितको) रू. १ अर्ब ८९ करोड ८६ लाख मूल्यको आयात भएको थियो ।
यो आयात दाल तथा गेडागुडीको कुल आयातको १७ दशमलव ९ प्रतिशत अंश हुन आउँछ ।
देशगत रूपमा आयात हेर्दा आव २०७४।७५ मा प्रमुख रूपमा आयात गरिएका देशहरूमा म्यान्मारबाट रू. ३ अर्ब ४२ करोड ५७ लाख मूल्यको (दाल तथा गेडागुडीको कुल आयातको ३२ दशमलव २६ प्रतिशत), क्यानाडाबाट रू. २ अर्ब २५ करोड ९० लाख मूल्यको (कुल आयातको २१ दशमलव २७ प्रतिशत), अष्ट्रेलियाबाट रू. २ अर्ब ११ करोड ८६ लाख मूल्यको (कुल आयातको १९ दशमलव ९५ प्रतिशत) आयात भएको थियो ।
दाल तथा गेडागुडीको प्रकार अनुसार तथा देशगत रूपमा आयात हेर्दा आ व २०७४।७५ मा प्रमुख रूपमा आयात गरिएको रूप बोडी (दलेको वा नदलेको) जुन म्यान्मारबाट रू. २ अर्ब ५ करोड ६३ लाख मूल्यको थियो ।
दोस्रो रूप वा प्रकार चना (दलेको वा नदलेको) अस्ट्रेलियाबाट, तेस्रोमा बोडी (दलेको वा नदलेको) क्यानाडाबाट रू. १ अर्ब २६ करोड १७ लाख मूल्यको आयात भएको थियो ।
भन्सार विभाग तथा कृषि विज्ञहरुको सहयोगमा अशिम सापकोटाको रीपोर्ट






