मन्डलाया : म्यानमारको दोस्रो सबैभन्दा ठूलो सहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ।
म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन्।
‘‘आक्रोशित प्रदर्शनकारीहरूको भिडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’’ मन्डलायास्थित् स्वयंसेवी आपत्कालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने।
घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए। मृतकमध्ये एकजना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए।
एक अर्का स्वयंसेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको संख्या दुई पुगेको पुष्टि गरे।
म्यानमारमा केही हप्तापहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।






