काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन्।
झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले अहिलेको भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादको चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्षक्त गरे।
अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र लोकतान्त्रिक र प्रगतिशील मान्यता भएको भन्दै शासन जनताको छोराछोरीले गर्ने, अभिभावकको रूपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरी हित हुने दाबी गरे। सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दुराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने उनको धारणा थियो।
१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै उनले विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहरी राजनीतिले काम गरेको जिकिर गरे। कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।
कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई कांग्रेस र कम्युनिस्टको विकल्पको रूपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे ।






