काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारको प्रवेश निलम्बन गरेका छन् । उनले सोमबार यस निर्णयले कोरोना भाइरसको महामारीका कारण संकटमा परेको अर्थतन्त्रलाई सहयोग पुग्नेसमेत बताएका छन् ।
तर, व्यापारिक समूहहरुले भने सरकारको यस निर्णयको विरोध गरेका छन् ।
राष्ट्रपति ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका हुन् ।
ट्रम्पको यस निर्णयले उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आय र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुनेछन् ।
कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
नयाँ नियमका कारण अमेरिकामा काम गर्ने करिब ५ लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै १ लाख ७० हजार विदेशी कामदार छन् ।
ट्रम्प प्रशासनले गत अप्रिलमा पहिलोपटक केही भिसा तथा ग्रिन कार्डको काम रोक्ने बताएको थियो । सो घोषणा अनुसारको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्मै यो नियम लागु हुनेछ ।
भिसा भएकाहरु भने समस्या पर्ने छैनन् । तर, भिसा सकिएर नवीकरण गर्नुपर्ने या ग्रिन कार्डका लागि आवेदन दिनेहरु भने प्रभावित हुनेछन् ।
यस्तै अमेरिकामा रहेका भारतका प्रविधि क्षेत्रका कामदार र उनीहरुको परिवारका सदस्यलाई प्रदान गरिने एच-वानबी भिसा पनि तत्कालका लागि निलम्बन गरिएको छ ।
भारतमा जन्मिएका गुगलका सीईओ सुन्दर पिचाइले सरकारको निर्णयले निराश बनाएको बताएका छन् । भारतले सरकारले भने अहिलेसम्म सरकारको यस निर्णयमा कुनै प्रतिक्रिया दिएको छैन ।
मौसमी कामदारहरुलाई प्रदान गरिने एच–टूबी भिसा, विद्यार्थी तथा आयाहरुलाई प्रधान गरिने जे-वान सर्ट टर्म एक्सचेन्ज भिसा पनि प्रभावित भएको छ ।
यसैगरी बहुराष्ट्रिय कम्पनीहरुमा उच्च तहमा काम गर्नेहरुलाई प्रदान गरिने एल भिसा पनि तत्कालका लागि बन्द गरिएको छ । बीबीसी






