Home / Society / सरकारले ल्यायो अध्यादेश: बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाइ कडा सजाय

सरकारले ल्यायो अध्यादेश: बलात्कारमा संलग्न र मिलापत्र गराउनेलाइ कडा सजाय

काठमाडौं । सरकारले बलात्कारमा संलग्न र बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई कानुनको दायरामा ल्याउन केही ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ ।

आज बसेको मन्त्रिपरिषद्‌ बैठकले यौन हिंसाविरुद्धका ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको हो ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले अहिले समाजमा व्यापक रुपमा यौनजन्य घटनाहरु भइरहे पनि मौजुदा कानुन अपर्याप्त रहेकाले संशोधन गरिएको बताइन् । मन्त्री तुम्बाहाङ्फेका अनुसार बलात्कारका घटनामा संलग्नहरुको हकमा कैद सजायमा व्यापक परिवर्तन गरिएको छ ।

विगतमा रहेको १० वर्षमुनि र ७० वर्ष माथिको प्रावधन यथावत् राख्दै १४ देखि १६ वर्षसम्मका बालिकाहरुमाथि यौनजन्य हिंसा भए १२ देखि १६ वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको उनले बताइन् । विगतमा यो १२ देखि १४ वर्ष थियो । उनले भनिन्, ‘‘१६ देखि १८ वर्षसम्मका लाई हिंसा भयो भने पहिले १०-१२ वर्ष कैदको व्यवस्था थियो । तर त्यसलाई १० देखि १४ वर्षको कैद हुनुपर्छ भन्ने कुरा प्रस्ताव गरेका छौँ । १८ वर्षमाथिका कुनै पनि व्यक्तिमाथि त्यस्ता बलात्कार, जबरजस्ती करणीका घटना भए कसुर ठहरिएको व्यक्तिका हकमा अहिलेको ऐनमा ७ देखि १० वर्षको कैद सजाय हुने व्यवस्था थियो । त्यसलाई परिमार्जन गरेर १० देखि १२ वर्षको कैद हुने व्यवस्था गरिएको छ । समाजमा हुने यौनजन्य घटनालाई दुरुत्साहित गर्न सकियोस् भनेर सजाय बढाइएको हो

 उनले भनिन्, ‘‘पीडित पक्ष, उसको परिवारलाई प्रभावमा पारेर उजुरी नगर भन्ने अवस्थासम्ममा पुर्‍याउने गरेका घटना हामीले देखेका छौँ । त्यसैले त्यस्ता घटना नघटुन कम्तिमा पीडित पक्षले न्याय पाउन सकून्, न्याय पाउने ठाउँमा पुग्न सकून् भनेर मेलमिलाप गराउनु हुन्न भन्ने कुरा समेटिएको छ । यदि कसैले त्यस्तो गरेको पाइए दण्ड सजायको व्यवस्था गरिएको छ । मेलमिलापमा संलग्नलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।’’

सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०७३ पनि परिमार्जन गरेको छ । ऐनमा ज्‍येष्‍ठ नागरिकलाई मुद्दा चले उसको उमेर कसुर हेरेर २५ देखि ७५ प्रतिशत सजाय छुट दिने र कैद मिनाहा गर्ने प्रावधान थियो । अब अहिलेको कानुनले त्यसलाई हटाएको छ । ज्‍येष्ठ नागरिकले १८ वर्षभन्दा कम उमेरको बालिकालाई बलात्कार गरे वा बलात्कार प्रयास गरे आजीवन काराबासको व्यवस्था गरिएको मन्त्री तुम्बाहाङ्फेले बताइन् । उनले भनिन्, ‘‘ज्येष्ठ नागरिकले जबरजस्ती करणीसम्बन्धी कसुर गरेको अवस्थामा, तेजाब प्रयोग गरी ज्यान मारेको, अंगभंग गरेको, शारीरिक क्षति पुर्‍याएको कसुर, भ्रष्टाचार, सम्पती शुद्वीकरण वा लागुऔषध कारोबारको कसुर तथा आजीवन कैद बस्‍ने गरी सजाय हुने कसुरमा ज्येष्ठ नागरिकलाई यस प्रकारको छुट नहुने व्यवस्था गरिएको छ । जस कारण ज्‍येष्ठ नागरिकले बालिकालाई करणी गरेर छुटकरा पाउने अवस्था हुने छैन । हाम्रा बाजेहरुले पनि साना-साना नानीहरुलाई करणी गरेको अवस्था छ भने आजीवन काराबासमा बस्नुपर्ने कुरा अहिलेको अध्यादेशमा समावेश गरिएको छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *