काठमाडौं : कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने भएको छ।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ ।
यस सम्झौतासँगै नेपालको कोभिड–१९ विरुद्धको खोपको पुँजीको विविधिकरण र सुदृढीकरण भएको विश्व बैंकले जनाएको छ । मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्ने जनाइएको छ ।
यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आइपुग्ने अपेक्षा गरिएको छ । यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने विश्व बैंकले जनाएको छ।






