काठमाडौं । नेकपाका सांसद लालबाबु पण्डितले नेपाल सरकारले सीमा समस्याको समाधानका लागि भारतलाई वार्ताका लागि एक महिनाको अल्टिमेटम दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भने, “नेपाल सरकारले लुटिएको भूमि फिर्ताका लागि भारतलाई वार्तामा आउन एक महिनाको समय दिनुपर्छ ।
यो एक महिनाको अवधिमा वार्तामा भारत आएन भने बाँकी दुई महिनाको समय दिएर भारतीय फौज हटाउन अल्टिमेटम दिनुपर्छ ।”
उनले भारत वार्तामा आएन र सेना फिर्ता गरेन भने नेपाल एकढिक्का भएर अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने बताएका छन् ।
उनले भने, “नेपाल सरकारले भारतीय सेना फिर्ता लैजान दिएको दुई महिनाको समयमा पनि फिर्ता गरेन र वार्तमा आएन भने नेपाल अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्छ । नेपाल एकढिक्का भएर सुरक्षात्मक स्थितिसहित नेपाल अघि बढ्नुपर्छ ।”
त्यसैगरी उनले भारतीय कब्जा रहेको नेपाली भूमिमा नेपाल सरकारले प्रशासनिक सुरक्षा, विकास निर्माणलगायतका गतिविधि अघि बढाउनुपर्ने समेत बताएका छन् ।
उनले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा कसैको डर धम्कीमा पर्न नहुने बताएका छन् ।
सांसद पण्डितले नेपाल सरकारले ल्याएको संविधान संशोधनमा पूर्ण समर्थन गर्दै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।






