Home / Society / काठमाडौमा निषेधाज्ञा झनै कडा, औषधि र खाद्यवस्तु लिनबाहेक बाहिर निस्कन नपाइने

काठमाडौमा निषेधाज्ञा झनै कडा, औषधि र खाद्यवस्तु लिनबाहेक बाहिर निस्कन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताए ।  प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ । काठमाडौं जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि थप कडाइ गरिएको छ ।

अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न नदिइने उल्लेख छ । यसअघि भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा आज मध्यराति सकिँदै छ । मंगलबारमात्रै कोरोना संक्रमितको दर बढिरहेको भन्दै उपत्यकाका जनप्रतिनिधिहरुले निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।

जिल्ला सुरक्षा समितिलाई संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार निर्णय निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *