काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले पार्टी एकतासम्बन्धी प्रक्रिया सबै सहमतिमा भएको दाबी गरेकाछन् ।
निर्वाचन आयोगमा दल दर्ता भएलगत्तै आइतबार पाण्डेले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।
भट्टराईको जिम्मेवारीबारे प्रस्ट पार्दै पाण्डेले धेरै बैचारिक र संगठनात्मक कुराहरुमा छलफल गर्न बाँकी रहेको बताएका छन् ।
उनले बाहिर चलेका हल्लाहरुबाट कसलाई भ्रमित नहुन आग्रह गर्दै बाँकी कुरा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने प्रस्ट पारेका छन् ।
समाजवादी र राजपाको एकताका लागि भट्टराईले एक वर्षअगाडिदेखि पहल गर्नुभएको स्पष्ट पार्दै पाण्डेले अहिलेको एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको दाबी गरेका छन् ।
आइतबार जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको छ भने वरिष्ठ नेतामा डा. भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाउँमा सहमति जुटेको छ ।
यस्तो छ पाण्डेको प्रतिक्रिया–
बाहिर अनेकन हल्ला चलेकोले प्रष्ट पार्न चाहन्छु । सबै कुरा सहमतिमा भएको छ ।
धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेको र निर्वाचन आयोगमा आजै पुग्नुपर्ने बाध्यता भएकोले आज २ पार्टीबाट १/१ जना अध्यक्षको नाममा संयुक्त पार्टी दर्ता गरौं, म अहिले सदस्य नै हुन्छु र बाँकी कुरा पार्टीको पहिलो बैठकबाट निर्णय गरौं भनेर बाबुराम भट्टराईले पार्टी एकताको बैठकमा सहजीकरण गर्नुभएको हो ।
कोही साथीहरु पनि बाहिर चलेका हल्लाहरुबाट भ्रमित हुन जरुरी छैन । बाँकी कुरामा अब छिट्टै बस्ने केन्द्रीय समितिको बैठकले सबैलाई चित्तबुझ्दो निर्णय गर्नेछ ।
कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो । हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो ।
नेतृत्वलगायतका अन्य वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ । समाजवादी र राजपाको एकता बाबुराम भट्टराईको एक वर्षअगाडिदेखिको पहल हो ।
अहिले उहाँले यो एकतालाई के गर्दा निष्कर्षमा लैजान सकिन्छ त्यही गर्नुभएको हो । छिट्टै बस्ने केन्द्रीय समितिको बैठकसम्म सबैले धेर्य गरौं ।
वैचारिक कुरासहित नेतृत्वको कुरा सबैलाई चित्त बुझ्ने गरी सेटमै जनता समाजवादी पार्टीले निर्णय गर्नेछ ।






