Home / Nepal / वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला

वीरगन्जबाट ३५ जनासँगै बसमा कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला

काठमाडौं । कैलालीमा कोरोना पोजेटिभ देखिएकी ६० वर्षीया बृद्धा वीरगन्जबाट ३५ जनासँगै कैलाली पुगेको खुलेको छ । 

प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि १७ गते ती महिलासहित अन्य ३५ जना बसमा कैलाली पुगेका थिए । उनीहरु १८ गते कैलाली पुगेका थिए । १८ गतेबाट २९ गतेसम्म उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पुर्‍याएको थियो ।  उनी वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा छ ।

वीरगन्जबाट कैलाली पुगेको ३५ जनाकै समूहलाई विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । जसमध्ये कोरोना पोजेटिभ देखिएकी महिलासहित १७ जनालाई लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । केही दिनअघि ती महिलासहित अन्यको र्‍यापिड टेष्ट गरिएको थियो । र्‍यापिड टेष्टमा नेगेटिभ देखिएको थियो । 

तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले बताए ।  कोरोनापोजेटिभ देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फिर्ता बोलाइएको छ । शनिबार र्‍यापिड टेस्ट किटमा पोजेटिभ देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पीसीआर मेसिनमा पुनः परीक्षणका लागि पठाइउको थियो ।

त्यहाँ पनि पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *