विराटनगर- आफूविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त्यसलाई सुविधाजनक बहुमतका साथ सामना गर्ने प्रतिक्रिया दिएका छन्।
आफू सहज अवस्थामै त्यो प्रस्तावलाई सदनमा ‘फेस’ गर्न तयार रहेको बताएका छन्। आज भिडियो सन्देश जारी गर्दै राईले “सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट निर्देशित भएरै प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता ल्याउने, कमजोर बनाउने र संघीयतालाई संस्थागत हुन नदिन निर्देशित ढंगबाट अविश्वास प्रस्ताव आएको” बताएका छन्। तर, यसबाट आफू रत्तिभर पनि विचलित नभएको राईले बताएका छन् ।
उनले संघीयतालाई ‘कोल्याप्स’ गर्ने चालबाजीका रुपमा अविश्वास प्रस्ताव आएको भन्दै त्यसलाई असफल बनाउने जिकिर गरेका हुन्। संविधानलाई कार्यन्वयन हुन नदिन अनेक प्रयास हुँदै आएको बेला जनतालाई अपिल गरेर ठूलो जनमत प्राप्त गरेको राईको भनाइ छ।
प्रदेश सरकारले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।






