काठमाडौं । नेकपाकी सांसद गंगा चौधरीले संसदभित्र भारतीय चेलीको दादागिरी चल्न थालेको आरोप लगाएकी छिन ।
सांसद चौधरीले नेपाली भूमि मिचाहासँग सल्लाह गरेरमात्र नक्सा छाप्नुपर्ने भन्ने अभिव्यक्तिलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सून्य समयमा बोल्दै दादागिरीको संज्ञा दिएकी हुन् ।
संसदमा बोल्ने क्रममा समाजवादी पार्टीकी सांसद सरिता गिरीले केही दिनअघि एकतर्फी रुपमा सरकारले नक्सा जारी गरेकोमा आपत्ति जनाउँदै भारतसँग छलफल गरेरमात्र अघि बढ्न सुझाव दिएकी थिइन् ।
चौधरीले गिरीलाई जवाफ दिदै भनिन् ‘नेपालमाथि भारतको दादागिरी, नमिचिएको भूमि ठाउँ छैन, नहेपिएको गाउँ छैन । भन्दा भन्दै यो सदनभित्र पनि भारतीय चेलीको दादागिरी चल्न थाल्यो । मेरो देशको मिचिएको भूमि मेरो हो भन्न पनि मिचाहासँग सल्लाह गर्नुपर्ने ? यो कस्ता बिडम्बना हो ?’
प्रधानमन्त्रीले समृद्धिका सपना र योजना फ्याँक्नासाथ भारतीय खुफिया एजेन्सी र का एजेन्टहरु १५ दिनसम्म घाइते हुने गरेको भन्दै सरकारले देशको हितमा काम गर्न खोज्दा सबै शक्ति लगाएर असफल पार्न खोजिने गरेको आरोप चौधरीले लगाइन् ।






