Home / Society / भारतबाहेक अन्य मुलुकबाट करिब २८ हजार नेपालीको उद्धार

भारतबाहेक अन्य मुलुकबाट करिब २८ हजार नेपालीको उद्धार

यसैगरी विदेशमा निधन भएका १६० जना नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ ।

काठमाडौँ । भारतबाहेक अन्य मुलुकबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म २७ हजार १२५ जनाको उद्धार गरिएको छ ।

बुधबार मात्र ५९३ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबारअघि असार २८ गतेसम्म २७ हजार ५३२ जना नेपाली स्वदेश फर्किएका थिए । बुधबार नेपाल फर्कनेमा मलेसियाबाट १७, सिङ्गापुर र अस्ट्रेलियाबाट ५१, युएईबाट २८४ र कतारबाट १४१ जना छन् ।

त्यसैगरी विदेशमा कोरोना भाइरसको सङ्क्रमणमा परेका नेपाली नागरिकमध्ये ९२ प्रतिशत सङ्क्रमणमुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भीसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको हो ।

विभिन्न एयरलाइन्सका १४९ उडानमार्फत उनीहरूको उद्धार गरिएको हो । गत जेठको मध्यदेखि सुरु उद्धार उडानमार्फत असार २८ गतेसम्म संयुक्त अरब इमिरेट्स युएईबाट पाँच हजार ८३५ जनाको उद्धार भएको छ ।

यस्तै अफगानिस्तानबाट १८, अस्ट्रेलियाबाट ४८३, म्यानमारबाट २६, जापानबाट ७५६, थाइल्यान्डबाट ३२६, दक्षिण कोरियाबाट ४७६, बङ्गलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, श्रीलङ्काबाट पाँच, सिङ्गापुरबाट १४६, हङकङबाट ८९ र पाकिस्तानबाट ७२ जनालाई ल्याइएको छ ।

कुबेतमा आममाफी पाएका र अन्य अलपत्र परेकासहित पाँच हजार २४३ जनाको उद्धार गरिएको छ । यस्तै साउदी अरबबाट चार हजार १४८, मलेसियाबाट तीन हजार २०९ र कतारबाट दुई हजार ८८४ जनाको उद्धार गरिएको हो ।

यसैगरी बहराइनबाट ७१२, ओमानबाट ४९२, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट १०५, टर्कीबाट ३४, फिलिपिन्सबाट १०८ र इन्डोनेसियाबाट २० जना नेपालीलाई स्वदेश फर्काएको समितिले जनाएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *