युरोकप अन्तरगत राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १-१ गोलको बराबरीमा रोकेको छ। खेलमा अग्रता लिएको घरेलु टिम हंगेरीले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अटिला फियोलाले गोल गरेका थिए ।
खेलको ६६ औं मिनेटमा फ्रान्सले गोल गर्दै बराबरी बनाएको थियो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए। बराबरीसँगै फ्रान्सले समूह ‘एफ’ मा दुई खेलबाट चार अंक जोडेको छ भने हंगेरीले भने १ अंक जोड्न सफल भएको छ।
आजको दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे खेल हुनेछ। पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने दाउमा छ भने पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ।
जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्।
३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ। यसै गरी तेस्रो खेलमा समूह ‘ई’का स्पेन र पोल्यान्डबीच राति १२:४५ बजे प्रतिस्पर्धा गर्नेछन। पहिलो खेलमा स्विडेन सँग बराबरीमा रोकीएको स्पेन जित हात पार्ने दाउमा छ ।






