काठमाडौं : अछाममा जन्ती बोकेको से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने छन्।
डीएसपी तुलसीराम अर्यालका अनुसार जन्ती बोकेको जीप कच्ची सडकमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा उक्त हताहती भएको हो। उनले भने “एक जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।” डीएसपी अर्यालले फेरि भने, “५/६ जना सिट क्षमताको गाडीमा १७ जना सवार रहेको र कच्ची सडक भएकाले ओभर लोडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ।”
पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको अर्यालले जानकारी दिए।
दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको र त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।






