काठमाडौं : टोखा नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले खोप लगाउने क्रममा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्।
शनिबार कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो मात्रा खोप लगाउने क्रममा खटिएका स्वास्थ्यकर्मीमाथि ग्रान्डी अस्पताल परिसरभित्र आक्रमण गरिएको जनाइएको छ। परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण गरिएको भन्दै कारबाहीको माग गरिएको हो।
नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै रामकाजी थापालगायत व्यक्तिहरुले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन्।
“कोभिड–१९ महामारीको कारण सृजित विषम परिस्थितिमा ज्यानको प्रवाह नगरिकन जोखिम मोल्दै रातदिन आफ्नो कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीप्रति न्यूनतम मानवीय व्यवहारसमेत नगरी दुर्व्यवहार गर्ने, हातपात गर्नेजस्ता निन्दनीय कार्यको घोर भर्त्सना गर्दै उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई अविलम्ब कडाभन्दा कडा कारबाही गर्न टोखा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा स्वास्थ्यकर्मी जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।





