काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सर्वसम्मतिबाट नै संविधान संशोधनको प्रस्ताव पारित गर्ने वातावरण बनाउने काम प्रधानमन्त्रीको भएको हुनाले त्यसतर्फ लाग्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा डा. भट्टराईले यस्तो सुझाव दिएका हुन् ।
“भौगोलिक अखण्डताकोजस्तो विषयजस्तो अर्को हुन पनि सक्दैन,” डा. भट्टराईले बैठकपछि कुरा गर्दै भने, “कालीनदीपूर्वको भूभाग नेपालको हो ।
अबको प्रश्न भारतीय सेनालाई त्यहाँबाट फिर्ता गरेर हाम्रो भोग कसरी कायम गर्ने भन्ने हो ।
त्यसको लागि वार्तामार्फत् अघि बढ्नुपर्छ । यहाँ मुलुकभित्र देखिएका समस्या पनि सँगै समाधान होस् भन्ने हाम्रो चाहना छ ।”
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठकबाट यो विषय निर्णय गराउनुपर्ने बताएकाले त्यसबेलासम्म सर्वसम्मतिको वातावरण बनाउनुपर्ने डा. भट्टराईको भनाइ थियो ।






