काठमाडौं : कक्षा १२ को परीक्षा कहिले हुने अझै अन्योल कायम छ। परीक्षा मिति तोक्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डमा यसबारेमा औपचारिक छलफलसमेत हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बीचको आपसी द्वन्द्वले कक्षा १२ को परीक्षामा अन्योल बढेको हो ।
साउन ३१ बाट कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको थियो । कोभिड–१९ को तेस्रो लहर सुरु भयो भन्दै त्रास फैलिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पुर्नरावलोकन गर्नू भनेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो।
यसबारेमा परीक्षा बोर्डमा बुझ्दा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बिरामी भएको छु भन्दै पन्छिए भने प्रवक्ता जंगबहादुर अर्याल परीक्षाबारे छलफल नभएको सुनाए । उनले सीसीएमसी र स्वास्थ्य मन्त्रालयले परीक्षा रोकिदिएकाले परीक्षा गराउन उनीहरुले नै पहल गर्नुपर्ने आशय व्यक्त गरे । उनले भने, “सीसीएमसीले केही भनेको छैन । दसैं अगाडिसम्म परीक्षा गराउन सकिन्छ नि भन्ने सोच छ ।”
यता, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडा परीक्षा बोर्डले नै रोकेको हुँदा फेरि गर्ने/नगर्ने निर्णय बोर्डले नै गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “पुर्नरावललोकन गर्नू भनेको रोक्नू भनेको होइन। यदि बोर्डले सीसीएमसीकै आदेश कुरेर बसेको हो भने हामीलाई कुनै आपत्ति छैन आदेश दिन ।”
गत शुक्रबार शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा रोक्नुको औचित्यबारे शिक्षा मन्त्रालय र बोर्डसँग प्रश्न गरेको थियो । यस्तै, सीसीएमसीले परीक्षा पुर्नरावलोकन गर्नू भनेपछि परीक्षा रोक्ने उसको नियत माथि पनि समितिले प्रश्न उठाएकोे थियो । समितिले परीक्षा केन्द्र र जनशक्ति थपेरै भए पनि परीक्षा छिटो गराउन बोर्डसँग अनुरोध गरेको छ ।
यस्तै, शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा ‘बोर्डले परीक्षा रोेके पनि परीक्षा रोक्न बाध्य कसले बनायो भन्न नपर्ला’ भन्दै सीसीएमसी र स्वास्थ्य मन्त्रालयमाथि आरोप लगाए । “पुर्नरावलोकन गर्नू नत्र हामी जिम्मेवार हुने छैनौं भन्नुको अर्थ रोक्नु नै हो,” उनले दाबी गरे ।
मन्त्रालयले अब परीक्षा गर्नेबारे छलफल गर्ने उनले जानकारी दिए । उनले परीक्षा तालिका सार्वजनिक गर्नु अगाडि कम्तिमा दुई साता विद्यार्थीको तयारीका लागि दिने बताए । भन्छन्, “परीक्षाको मोडालिटीमा छलफल गर्छौँ । खोप दिइसकेको ठाउँमा अहिले गर्ने हो कि सबैले खोप पाएपछि गर्ने ? यी सबै कुरा मध्यनजर गर्दै परीक्षा मिति तोक्छौँ ।”






