काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
कम्पनीले आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओमा सर्वसाधारणले छिटोमा वैशाख २१ सम्म र सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा मागेजति आवेदन दिन सक्नेछन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनी आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
कम्पनीका चारवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने तीनवटा आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन् । कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत् कम्पनी र ०.१८ मेगावटको स्यागेखोला जलविद्युत् आयोजना गरी दुईवटा हाइड्रोपावर परियोजना सञ्चालन छन् ।
कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दीखोला जलविद्युत् लिमिटेड तथा खारेखोला जलविद्युत् कम्पनी लिमिटेड गरी तीनवटा आयोजनाहरु निर्माण भइरहेका छन् । साथै, कम्पनीको लगानी रहेको संखुवासभाको मकालु गाउँपालिका–२ मा ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजना पनि निर्माणको क्रममा रहेको छ ।
सन् २००९ मा स्थापना सीईडीबी हाइड्रोपावर लिमिटेडको चालु आवमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५ पैसा र प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा रहेको छ । कम्पनीले आव २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, आगामी आवमा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।
साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्रीपश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।






