Home / Nepal / News / निजी क्षेत्रको लगानीमा नयाँ पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने तयारीमा बीमा समिति

निजी क्षेत्रको लगानीमा नयाँ पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने तयारीमा बीमा समिति

काठमाडौं । बिमा समितिले पुनर्बिमाको कम्पनीको लाइसेन्स दिने भन्दै प्रस्ताव माग गरेको छ । समितिले बिहीबार एक सूचना प्रकाशित गर्दै पुनर्बिमा कम्पनीको लागि प्रस्ताव आह्वान गरेको छ ।

पुनर्बिमा व्यवसायलाई प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएको भन्दै निजी क्षेत्रको लगानीमा नयाँ पुनर्बिमा कम्पनीको लागि लाइसेन्स दिने समितिले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्न भनिएको उक्त सूचनामा प्रस्ताव पेस गर्दा न्यूनतम चुक्ता पुँजी १० अर्ब हुनुपर्ने भनिएको छ ।

नेपाल पुनर्बिमा कम्पनीमा लगानी गरेका संस्थापक सेयरधनीले नयाँ आउने पुनर्बिमा कम्पनीमा लगानी गर्न नपाउने बिमा समितिले जनाएको छ । “पुनर्बिमा कम्पनीको लाइसेन्सको लागि प्रस्ताव पेस गर्दा बिमा समितिबाट जारी भएको बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिकामा रहेको संस्थापना र दर्तासम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरु समावेश गरेको हुनपर्छ,” समितिको सूचनामा भनिएको छ ।

प्रस्ताव आह्वान भएसँगै बिमा समितिमा यसअघि दर्ता भएको सबै प्रस्ताव रद्द हुने बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । “प्रक्रिया  पूरा गरेर जो कोहीले पनि प्रस्ताव दर्ता गर्न सक्छन् । यसअघि दर्ता भएको सबै प्रस्ताव खारेज भएका छन् । तर, उनीहरुले पुनः प्रस्ताव दर्ता गर्न सक्छन्,” उनले बाह्रखरीसँग भने, “प्रस्ताव दर्ता गरेको प्रस्तावहरुको फाइल अध्ययन गर्दा मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने एक मात्रलाई छनोट गरिनेछ ।”
एउटा मात्रै कम्पनीका लागि लाइसेन्स दिने समिति अध्यक्ष सिलवालले स्पष्ट पारे ।

यसअघि, पुनर्बिमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले जानकारी दिएको छ । समितिले एउटा मात्रै पुनर्बिमा कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *