दाङ : पश्चिम दाङमा वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा परेको छ। डिभिजन वन कार्यालय दाङले बबई गाउँपालिकाका वडा नम्बर–५, बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती गर्ने तथा घरटहरा निर्माणमा संलग्नविरुद्ध मुद्दा चलाइएको छ ।
पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालका अनुसार आरोपितविरुद्ध मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको साथै वन अतिक्रमण मुद्दा चलाइएका मध्ये दुईजनालाई पक्राउ गरिएको छ। उनीहरुको नाम भने सार्वजनिक नगरिएको उनले बताए।
अरू २० जना भने फरार रहेको र उनीहरूको खोजी भइरहेको बरालले बताए। वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको उनको भनाइ छ ।
यसैबीच, अतिक्रमण गरिएको मध्ये त्यहाँको करिब ६ बिघा क्षेत्र खाली गरिएको छ । बरालका अनुसार पुनः अतिक्रमण हुन नदिनका लागि ११ सय मिटर तोस बनाएर वन क्षेत्र छुट्ट्याउने गरी खाडल खनिएको छ ।






