हेटौंडा । मानिसको आवश्यकताअनुसार विकास निरन्तर हुने सामान्य प्रक्रिया हो । तर, यही सामान्य प्रक्रियामा गरिने केही प्राविधिक गडबडी र बजेट सक्ने हतारोले यसलाई अनुचित र प्रयोगमा असहज बनाइदिने गर्दछ ।
हेटौंडामा बेलाबेलामा देखिने यस्तै दृष्यमध्ये पछिल्लो समय बसामाडीको सडक स्ल्याब ढलान पनि देखिएको छ । जहाँ सडकको बीचमा बिजुलीको पोल राखेर स्ल्याब ढलान गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडकको बीचमा बिजुलीको पोल पारेर ४ मिटर चौडाईंको करिब ४ सय ५० मिटर लामो स्ल्याब ढलान गरिएपछि स्थानीय उपभोक्ता निराशमात्र छैनन्, आक्रोशित देखिएका छन् ।

आर्थिक वर्षको करिब अन्त्यतिर बजेट सकाउने चटारोले गरिएको यस्तो स्ल्याब ढलानले स्थानीय आक्रोशित बनेका हुन् ।
प्रदेश सरकारबाट सडक स्ल्याब ढलानका लागि उपलब्ध ३० लाख रुपियाँले जेठभित्र काम सक्नुपर्ने भए पनि नेपाल विद्युत् प्राधिकरणले पोल तत्काल स्थानान्तरण नगरेपछि पोललाई बीचमा पारेर सडक स्ल्याब ढलान गरिएको हो ।
प्राधिकरणले ११ हजार भोल्टको तार टाँगिएको पोल भएका कारण तत्काल स्थानान्तरण गर्न नसकिने जानकारी दिएको थियो ।
समस्याबारे प्राधिकरण तथा हेटौंडा उपमहानगरपालिकालाई जानकारी दिए पनि कुनै क्षेत्रबाट चासो नदिइएको उपभोक्ता समितिका पदाधिकारीको दाबी छ ।
स्ल्याब गरिएको उक्त सडकबाट चारपांग्रे सवारी गुड्न सक्ने स्थान छैन । एम्बुलेन्स र दमकल गुड्न मिल्ने स्थान ढलानमा छैन । मोटरसाइकल बल्लबल्ल चलाउन सकिनेमात्र स्थान छ ।
‘एउटा पोलका कारण बजेट फिर्ता जाने भएपछि सडक यसरी निर्माण गर्नुपरेको हो,’ सडक निर्माण समिति सचिव चण्डिका न्यौपानेले बताउनुभयो ।
उहाँले भन्नुभयो–गाउँमा आएको विकास बजेटलाई फिर्ता गर्न नहुने सहमतिपछि सडक यसरी निर्माण गरिएको हो ।
बीचमा बिजुलीको पोल पर्ने भएपछि डिभाइडर राखेर सडक स्ल्याब ढलान गर्न सकिने अबस्थालाई नजरअन्दाज गर्दै स्ल्याब ढलान गरिएको छ ।






