महेन्द्रनगर : बैतडीको पाटन नगरपालिका–८ घरबाट भागेर निस्केका देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोलीले २० वर्षीया भाउजूलाई शनिबार बिहान महेन्द्रनगर लिएर आइपुगेका थिए। उनीहरु बसपार्कस्थित पोखरा होटेल एन्ड लजमा बसेका थिए। देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आँकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,, ‘‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ। ‘‘भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो,’’ देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन।
‘‘उपचारमा रहेका कोलीले भाउजूले के को पात दिइन्, खाँदा बिरामी परेँ भन्थे,’’ थापाले भने, ‘‘उनीहरु होटेल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ।’’ प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ। प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ।






