मुम्बई : बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीलाई ठगीको आरोपमा पक्राउ गरेको छ।
आईओसिस वेलनेस सेन्टरको फ्रेन्चाइजको नाममा लखनउ प्रहरीले शिल्पा र उनकी आमालाई पक्राउ गरेको छ भने मुम्बई प्रहरी सोधपुछका लागि उनीहरूको घर पुगेको छ।
भारतीय मिडियाका अनुसार शिल्पा र उनकी आमाको नाममा दुईवटा एफआईआर दर्ता गरिएको छ। शिल्पा र उनकी आमाले यसको शाखा खोल्ने नाममा दुईजनासँग करोडौँ रुपैया लिए, तर शाखा खोलेनन्।
उक्त कम्पनीका अध्यक्ष किरण बावाले भने इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै शिल्पा र उनकी आमाको यसमा कुनै हात नरहेको बताएकी छन्। उनका अनुसार शिल्पा र सुनन्दा धेरै समयअघि नै यो कम्पनीबाट छुट्टिएका थिए। यो कम्पनी आफ्नो सन्तानजस्तो भएको भन्दै उनले यसबारे भ्रामक समाचारहरू नफैलाउन आग्रह गरेकी छन्।
पति राज कुन्द्रालाई अश्लील भिडियो निर्माण र प्रसारणमा गएको जुलाई १९ तारिखमा पक्राउ गरिएदेखि अभिनेत्री शिल्पा पनि कुनै न कुनै विवादमा फसिरहेका छन्। नवभारत टाइम्सबाट ।






