जनकपुरधाम : धनुषा प्रहरीले विद्यालयका कम्प्युटर चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार प्रहरीले जिल्लाको बटेश्वर गाउँपालिका–२ भुचक्रपुरस्थित जनप्रिय माध्यमिक विद्यालयका दुई थान ल्याप्टप र ३२ थान कम्प्युटर चोरी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार साउन १८ गते विद्यालयबाट दुई ल्याप्टप र कम्प्युटर चोरी भएको थियो। चोरी आरोपमा बटेश्वर गाउँपालिका ४ का प्रमोद महतो, सोही ठाउँका बुधन महतो र मिथिला नगरपालिका–८ निवासी रामप्रकाश महतोलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार विद्यालयबाट चोरिएका ३२ थानमध्ये १८ थान कम्प्युटर महतोको घरमा फेला परेका थिए । धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले अरोपीहरूमाथि चोरी मुद्दा महेन्द्रनगर इलाका प्रहरी कार्यालयबाट नै चल्ने जानकारी दिए ।
चोरी भएका कम्प्युटर १० दिनपछि प्रहरीले गोप्य सूचनाको अधारमा प्रमोदको घरबाट बरामद गरेको हो । उनका अनुसार प्रहरीले प्रविधिको सदुपयोग गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।






