Home / Politics / चौतर्फी आलोचना पश्चात् संसद्को लोगो फिर्ता।

चौतर्फी आलोचना पश्चात् संसद्को लोगो फिर्ता।

काठमाण्डौ, । चौतर्फी आलोचनापछि संसद् सचिवालयले अद्यावधिक नक्साहितको सांसदलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ । बुधबार प्रेस विज्ञप्ति निकालेर संसद् सचिवालयले लोगो फिर्ता गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी केही समस्याहरु देखिएकोले सो को सुधार र परिमार्जनका लागि त्यस कार्यालयमा फिर्ता पठाइएको छ । ब्याच पिन तयार गर्ने सो कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।’

सरकारबाट अद्यावधिक गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार सङ्घीय संसद्को प्रतिक चिह्नमा रहेको नेपालको नक्सामा समेत सुधार गर्ने सम्बन्धमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सङ्घीय संसद्का सांसदले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको त्यही निर्णयअनुसार सङ्घीय संसद् सचिवालयले तीन सय ५० थान नयाँ लोगो तयार गरेको थियो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र तीन दशमलव पाँच सेन्टिमिटर व्यास रहेको छ । प्रति लोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको थियो । तर यो लोगो भद्दा भएको भन्दै सांसदले सार्वजनिक रुपमा नै लोगो नलगाउने बताएका थिए भने सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *