Home / Politics / प्रतिनिधिसभाबाट संविधान संशोधन सर्वसम्मत पारित, ‘हुन्न’ भन्ने कोही भएन

प्रतिनिधिसभाबाट संविधान संशोधन सर्वसम्मत पारित, ‘हुन्न’ भन्ने कोही भएन

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्सा निशान छापभित्र समावेश गर्नका लागि प्रतिनिधिसभाले सर्वसम्मत रुपमा संविधान संशोधन विधेयक पारित गरेको छ ।

संविधानको अनुसूचीमा रहेको निशान छापभित्रको नेपालको नक्सा परिमार्जनका लागि संविधान संशोधन गर्न लागिएको हो । 


प्रतिनिधिसभाले पातिर गरेको विधेयक राष्ट्रियसभामा पेस गरिनेछ ।

भारतले आफ्नो नक्सामा नेपालको कालापानी, लिपलेक र लिम्पियाधुरा आफ्नो भूभाग भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालले त्यसको विरोध गरेको थियो ।

लकडाउनको अवधिमा भारतले उक्त भूभाग हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले पनि आफ्नो भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७ प्रतिनिधिसभाबाट पारित भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनि राखेको प्रस्तावमा मतविभाजन गरिएको थियो ।

२५८ जना सांसदहरु उपस्थित भएका थिए ।  मत विभाजन गर्दा प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्नेमा  २५८ जना सांसदहरुले हस्ताक्षर गरेका थिए भने विपक्षमा अर्थात् हुन्न भन्नेमा हस्ताक्षर गर्ने कोही पनि सांसद थिएनन् ।

सभामुख अग्नी सापकोटाले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक मतविभाजनका लागि प्रस्तुत गरेका थिए । 

सो क्रममा सांसदहरुले हस्ताक्षरसहितको मतविभाजन गरेका हुन् । सो क्रममा संशोधनको विपक्षमा मत नपरेपछि विधेयक सर्वसम्मत पारित भएको हो ।  प्रतिनिधसभाबाट पारित भएपछि विधेयक अब राष्ट्रियसभामा जानेछ ।

राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पारित गरिनेछ ।

संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *