काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको विषयमा आफूहरुमाथि शंका नगर्न अनुरोध गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा संविधानको दोस्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन् ।
उनले भने, “हामीलाई राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताप्रति हाम्रो दुईमत छैन । हामी पटक–पटक भनिरहेका छौं ।
तर, पनि आज मैले सुन्दा जुन अनर्गल कुरा सरकारपक्षबाट आएको छ त्यस्ता कुरालाई हामीले समर्थन गर्न मिल्छ ? त्यस किसिमबाट कसैले कसैलाई रगतको कुरा गर्न सकिन्छ ? यदि रगतको कुरा गर्ने हो भने इतिहास हेर्नुपर्ने हुन्छ ।त्यसकारण यस किसिमका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ । ”
उनले संविधान संशोधनको प्रस्ताव बनाउँदा भू भागसँग सम्बन्धित विषय भएकाले संविधानको धारा ४ को क र ख लाई पनि हेर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “सुगौली सन्धि भएकै हो । हार वा जितको कुरा गर्ने होइन । समय सापेक्ष सुगौली सन्धि भएको हो । त्यसपछि देशले विभिन्न सन्धि गरेको छ । महाकाली सन्धि गरेको छ । १९५० को सन्धि गरेको छ । कसले कसले गरेको हो ? आत्मालाई साक्षी राखेर आज सोचोस् । यो इतिहासको कालघडीमा के–के गर्नुभयो ? राष्ट्रवाद त्यो हो । कसले भूमि गुमाए ? ”
भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कूटनीतिक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिए ।






