मिनेसोटा । संयुक्त राज्य अमेरिकाका जारी आन्दोलनले हिंसात्मक रुपलिन थालेको छ । मिनेसोटा राज्यको मिनियापोलिसस्थित प्रहरी चौकीमा ४६ वर्षीय अश्वेत व्यक्ति जर्ज फ्लोइडको प्रहरीले हत्या गरेको भन्दै अमेरिकाभर विरोध प्रदर्शनहरु भएकाहुन ।

यही विरोध प्रदर्शन रोक्न कर्फ्यु जारी गरिए पनि त्यसको अवज्ञा गर्दा ह्वाइट हाउस नजिकै आगजनी गरिएको छ भने न्युयोर्क सिटी र साउर्थन क्यालिफोर्नियामा लुटपाटका घटनाहरु बढेका छन् ।
त्यसैगरी प्रदर्शनलाई मत्थर पार्न र भीड तितरवितर गर्न र्यालीमा सहभागीहरुमाथि ट्रक चलाइएको छ ।

अमेरिकाका विभिन्न १५ राज्यमा नेसनल गार्ड ट्रुफ परिचालन गरिएका छन् ।
कर्फ्यु जारी भएकै बेला मिनियापोलिसको प्रदर्शनलाई नियालिरहेका एक १८ वर्षीय जाभोन ग्राभेनले भने, “यसरी सहरमा हिंसात्मक प्रदर्शनहरु भएको मलाई पटक्कै मन पर्दैन । तर, हामीलाई न्याय चाहिएको छ ।”
एक गोरा जातिका प्रहरी अधिकारीले उक्त अश्वेत फ्लोइडको घाँटीमा घुँडाले थिचेर पक्राउ गर्दै गरेको भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको थियो । उनको २५ मार्चमा प्रहरी हिरासतमै रहेका बेला मृत्यु भएपछि विरोध प्रदर्शनले उग्र रुप लिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, उनले अहिलेका प्रदर्शनकारीहरुलाई ‘ठग’को संज्ञा दिएका छन् ।
केन्टुकीको लुइसभिलामा सोमबार बिहान प्रहरीले एकजनालाई गोली हानी हत्या गरेको बताइएको छ । उनी प्रदर्शनकारी थिए कि थिएनन् भन्ने खुलेको छैन । प्रहरीले भने आफूमाथि गोली चलाएपछि जवाफी फायरिङका क्रममा उनको मृत्यु भएको बताएको छ ।
आइतबार राति राष्ट्रपति कार्यालय ह्वाइटहाउस नजिकै आगजनी गरिएको थियो । प्रहरीले प्रदर्शनकारीहरुलाई हटाउनका लागि अश्रु ग्यास प्रहार गरेपछि आगोको धुवा र अश्रु ग्यासको धुवाको मुस्लोले अन्धकार छाएको थियो ।

त्यसैगरी बोस्टनमा पनि शान्तिपूर्ण आन्दोलन भनिएकोमा केही प्रदर्शनकारीहरुले प्रहरीमाथि बोतल प्रहार गरेपछि स्थिति अनियन्त्रित बनेको थियो । फिलाडेल्फियामा बेलुका ६ बजेदेखि बिहान ६ बनेसम्म कर्फ्यु जारी गरिएको छ ।
आइतबार दिउँसो प्रदर्शनकारीहरुमाथि ट्यांकर ट्रक चलाइएको थियो । पछि प्रदर्शनकारीहरुले ट्रक चालकलाई ट्रकबाट तानेर कुटपिटसमेत गरेका थिए । तर, ट्रक चलाउँदा कुनै प्रदर्शनकारीलाई भने क्षति नपुगेको बताइएको छ ।
त्यसैगरी पोर्टल्यान्ड र ओरेगनमा समेत प्रदर्शनकारीहरुले आगजनी गर्दा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।

त्यस्तै क्यालिफोर्नियमा केही पसल र स्टोरहरु तोडफोड गरेर लुटपाट गरिएका छन् । त्यस्तै लस एन्जेलसका सपिङ मलका सिसाहरु फोडेर लुटपाट गरिएको छ ।
न्युयोर्कका स्टोरहरुका झ्याल फोडेर लुटपाट गरिएका छन् । लुटपाटमा संलग्न ३५० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मंगलबारदेखि हालसम्म चार हजारभन्दा बढी प्रदर्शनकारी र लुटेराहरुलाई नियन्त्रणमा लिएको छ ।
यो पनि पढ्नुहोस
जातीय विभेदका आधारमा गरिएको हत्याको विरोधमा भइरहेको प्रदर्शनप्रति एक्यबद्धता जनाउँदा विश्वका विभिन्न सहरमा प्रदर्शनहरु भएका छन् । लन्डन, बर्लिन, न्युजिल्यान्ड, नेदरल्यान्ड, अस्ट्रेलियाका विभिन्न सहरलगायतका क्षेत्रमा आइतबार र सोमबार प्रदर्शनहरु भएका छन् । – रोयटर्स






