Home / Politics / राजपा र समाजबादीका नेताहरुद्वारा संविधान संशोधनको विधेयक दर्ता

राजपा र समाजबादीका नेताहरुद्वारा संविधान संशोधनको विधेयक दर्ता

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताहरुले संविधान संशोधनको विधेयक दर्ता गराएका छन् । 

राजपा नेपालका सांसद लक्ष्मण लाल कर्ण र समाजवादी दलका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा सोमबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गराएका हुन् ।

यसअघि शुक्रबारै संविधान संशोधन विधेयक लिएर गए पनि प्रस्ताव दर्ता नगर्दै सचिवालयले पछि आउन भनेको थियो ।

के छ संशोधन प्रस्तावमा ? 

संशोधन प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रियसभाको संरचना, संघीय सीमांकन आयोग गठन र  संविधानको धारा २७४ को उपधारा ७ संशोधन गर्न गर्ने विषय समावेश छन् । 

संविधानको धारा ६ मा ‘नेपाल सरकारले भाषा आयोगको सिफारिसमा सबै मातृभाषाहरुलाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भन्‍ने वाक्यांश थप गर्नुपर्ने ठाकुरको संशोधन प्रस्तावमा उल्लेख छ ।

प्रदेशको संख्या तथा सीमाङ्‍कन हेरफेरसम्बन्धी विषयमा सिफारिस गर्न नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ र त्यसको कार्यादेश तथा कार्यविधि आयोग गठन गर्दा सरकारले निर्धारण गरेबमोजिम हुने व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ । 

त्यस्तै, संविधानको धारा २८७ मा संघीय आयोग गठनको व्यवस्था थप गर्न माग गरिएको छ ।

त्यस्तै, संविधानको धारा ७ मा पनि संशोधन हुनुपर्ने ठाकुरको माग छ ।

‘भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनि निर्णय गरिएका भाषालाई संविधानको अनुसूचीमा समावेश गर्नेछ’ भन्‍ने व्यवस्था धारा ७ मा थप गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, नेपालीसँग विवाह गरेर आएकी विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्‍ने कारबाही चलाएपछि वैवाहिक अंगीकृत नागरिकता लिनसक्ने व्यवस्था राख्नुपर्ने भन्दै संविधानको धारा ११ को उपधारा ६ मा संशोधन गर्नुपर्ने ठाकुरको प्रस्ताव छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *