जनकपुर : प्रदेश २ को नाम मधेस प्रदेश राख्ने प्रस्तावसमेत बहुमतबाट अस्वीकृत भएको छ। मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा चौथो प्रस्तावको रुपमा अगाडि सारिएको ‘मधेस प्रदेश’समेत अस्वीकृत भएको हो।
प्रदेश २ कै सत्तारुढ राजपा र समाजवादीले अघि सारेको ‘मधेस प्रदेश’माथि भएको मतदानको पक्षमा ६० र विपक्षमा ४६ मत परेको छ। एक मत भने बदर भएको छ।
यसअघि प्रदेश २ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसद् राजेश्वरप्रसाद साहले अघि सारेको ‘मध्य मधेस’, कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’ , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको ‘जानकी’ समेत अस्वीकृत भएका हुन्।
कांग्रेस सांसद साहले प्रस्तुत गरेको मध्य मधेसको पक्षमा ४२ मत परेको थियो। कांग्रेसले अघि सारेको मिथिला भोजपुरा प्रस्तावको पक्षमा २८ मत परेको थियो भने नेकपाको प्रस्तावमा ३७ मत परेको थियो। चारवटै प्रस्ताव अस्वीकृत भएपछि प्रदेश २ को नामाकरणमा फेरि विवाद बढ्ने देखिएको छ।
प्रदेशसभाको पहिलो बैठक बसेको २५ महिनापछि नाम र राजधानी टुंग्याउन प्रदेशसभामा मंगलबार मतदान भएको थियो।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश गर्ने सहमति भएको थियो।






