कास्की : अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ ।
कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका अतिविपन्न अवस्थाका पोखराका ३८ परिवारलाई खाद्य सामग्री प्रदान गरिएको छ।
पोखरा प्रदर्शनी केन्द्रबाट उनीहरुलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको थियो।
पोखरा महानगरपालिकाका २४ देखि ३३ सम्मका वडाका ३८ विपन्न परिवारलाई गण्डकी टेलिभिजनका सञ्चारकर्मी अपिल त्रिपाठीमार्फत मङ्गलबार ती सामग्री हस्तान्तरण गरिएको हो । उनले प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी गरिब परिवार छनोट गरिएको जानकारी दिए ।
यसअघि अक्सिजन सिलिण्डरको व्यवस्थापनको लागिसमेत सहयोग रकम पठाइएको थियो तर अस्पतालमा पछिल्लो समय अक्सिजन समस्या नरहेको भन्ने जानकारी अस्पतालबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही रकमबाट सहयोग सामग्री हस्तान्तरण गरिएको सञ्चारकर्मी त्रिपाठीले बताए । रासस






