Home / Uncategorized / कोरोना महामारीले क्षति पुर्‍याएको भन्दै अमेरिकी राज्य मिजोरीद्वारा चीनविरुद्ध मुद्दा

कोरोना महामारीले क्षति पुर्‍याएको भन्दै अमेरिकी राज्य मिजोरीद्वारा चीनविरुद्ध मुद्दा

मिजोरी । नोभेल कोरोना भाइरसको महामारीले मानवीय र आर्थिक क्षति पुर्‍याइएको भन्दै अमेरिकी राज्य मिजोरीले चीनविरुद्ध मुद्दा दायर गरेको छ ।

मिजोरीका महान्यायनधिवक्ता इरिक स्किमटले मंगलबार चीन सरकारविरुद्ध कोरोना कारण मानिसहरुको मृत्यु भएको र आर्थिक दुरावस्था सिर्जना भएको भन्दै उजुदरी दिएको स्कमिटको कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ । 

उक्त मुद्दा चीन सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र अन्य चिनियाँ संस्थाहरुविरुद्ध दिइएको छ । उक्त उजुरीमा सूचना लुकाएको, कोरोना पहिचान गर्ने चिकित्सकलाई पक्राउ गरेको र  कोरोना संक्रामक प्रकृतिको नभएको भन्दै गलत सूचना दिएको मिजोरीमा गम्भीर परिणाम सिर्जना भएको आरोप लगाइएको छ । 

“कोभिड-१९ ले विश्वव्यापी रुपमा अतुलनीय क्षति पुर्‍याएको छ । यसले मानिसहरु बिरामी हुने, मृत्यु हुने, आर्थिक क्षति र मानवीय संकट उत्पन्‍न गराएको छ । मिजोरीमा भाइरसको संक्रमणबाट हजारौं मानिसहरु प्रभावित भएका छन् र धेरैको ज्यान गुमाएका छन् ।

परिवारजनले आफन्त गुमाएका छन् । साना व्यापार-व्यसायहरु बन्द भएका छन् । मानिसहरुलाई खाद्य संकट सिर्जना हुने स्थिति बनेको छ,” स्कमिटले आफ्नो उजुरीमा भनेका छन्, “चीन सरकारले विश्वसँग झुटो बोलेको विश्वलाई खतरामा पारेको छ ।

चीनले कोभिड-१९ संक्रामक रोग नभएको बताएको, कोरोना पहिचान गर्ने चिकित्सकको मुख बन्द गरेको, कोरोना संक्रमण रोक्न पहल कम गरेको छ । यी सबै गतिविधिको जीम्मेवारी चीनले लिनुपर्छ ।” 

उक्त मुद्दा अमेरिकाको मिजोरीको पूर्वी क्षेत्रमा अवस्थित जिल्ला अदालतमा दर्ता गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारी चीनका कारण फैलिएको र चीनले ‘जानेरै’ भाइरस फैलाएको अभियोग लगाउँदै उक्त कानुनी चेतावनी दिइएको हो ।

कोभिड–१९ बाट भएको मानवीय क्षति, समस्या तथा आर्थिक संकटको क्षतिपूर्ति चीनले व्यहोर्नुपर्ने उजुरीमा दाबी गरिएको छ । 

चीनले भने कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि आफूले पर्याप्त काम गरेको बताउँदै आएको छ । यसबारे चीन सरकारको प्रतिक्रिया लिन खोज्दा कुनै प्रतिक्रिया नआएको सीएनएनले जनाएको छ । 

जोन हप्किन्स विश्वविद्यालयका अनुसार मिजोरीमा हालसम्म ६ हजार १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २२९ जनाको मृत्यु भएको छ । चीनबाट गत डिसेम्बरमा सुरु भएको कोभिड-१९ बाट विश्वमै अहिले सबभन्दा बढी प्रभावित अमेरिका बनेको छ । 

अमेरिकामा हालसम्म कोरोना भाइरसबाट ८ लाखभन्दा बढी संक्रमित बनेका छन् भने ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । –सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *