काठमाडौं । सरकारले ल्याएको दुई अध्यादेशपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र दुई अध्यक्षबीच शक्ति संघर्ष शुरू भएको छ । नेकपाभित्रको विवाद सरकारले ल्याएको अध्यादेशसँगै छताछुल्ल भएको हो ।
देश कोरोना भाइरसको महाहारीविरुद्ध लडिरहेका बेला नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ शक्ति संघर्षमा लागेको देखिएको छ ।
पार्टीको एकतामा आघात पुग्ने काम–कुरा हुनुहुँदैन: नेपाल
ओली पार्टीसँग सल्लाह नै नगर्ने एक्लै हिँड्ने: खनाल,
सचिवालय बैठक बसिरहेकै बेला सरकारले पठाएको दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि शीर्ष नेताहरूले प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीमाथि अझ आशंका गरेका छन् ।
पार्टीभित्र परामर्श नगरी विवादास्पद दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाका शीर्ष नेताहरूबीच विभाजन देखिएको हो ।
अध्यादेशपछि सिर्जना भएको विवादपछि अध्यक्षद्वय ओली र प्रचण्ड आन्तरिक गृहकार्यमा जुटेका छन् ।
दुवै अध्यक्षले आफू निकटका नेताहरूसँग परामर्श गर्ने काम तीव्र गतिमा अघि बढाएका छन् ।
सरकारले ल्याएको अध्यादेशप्रति स्वयं ओली पक्षका नेताहरूले समेत असन्तुष्टि जनाएका छन् । तर, अध्यादेश जारी नै भएपछि तत्काल विवादको विषय रहे पनि रोक्ने अवस्था नेकपासँग छैन ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मूल्य–मान्यताविपरीत स्वेच्छाचारी ढंगले सरकारले अध्यादेश ल्याउनु गलत भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो– ‘कुनै पनि महत्वपूर्ण निर्णय गर्नुपर्दा शुरूमा पार्टीमा छलफल गरेर निर्णय हुन्छ, तर प्रधानमन्त्रीले त पहिला निर्णय गराएर लागू भएपछि बल्ल पार्टीको बैठक बोलाउनु हुन्छ, यो सरासर गलत छ, यस्ता गलत काम सच्याइनु पर्छ ।’
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई आघात पुग्ने काम–कुरा नेतृत्वबाट हुन नहुने बताउनुभएको छ ।
उहाँले पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु सबैको दायित्व भएको स्मरण गराउनुभएको छ ।
उहाँले आफ्नो पार्टीसहित अन्य पार्टीका नेता–कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
‘यस्तो विसम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम–कुरा हुनुहुँदैन ।’ –उहाँले भन्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टीको ७१औं स्थापना दिवसको अवसरमा नेता नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहम्बाट वा कुनै प्रकारको आक्रोश, भावावेश वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो भन्ने कुरा म स्मरण गराउन चाहन्छु ।’
मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको स्मरण गर्दै नेता नेपालले यस सन्दर्भमा कम्युनिस्ट आन्दोलनका विगतमा टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यति बेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी भएको बताउनुभयो ।
‘बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिन्छ ।’ –विज्ञप्तिमा भनिएको छ ।
‘राष्ट्रिय राजनीतिमा नेकपाले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्धति तथा संगठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरूबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिन्छ’, विज्ञप्तिमा भनिएको छ– ‘यस चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आह्वान गर्दछु ।
हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ ।
यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रूपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्छ ।
पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।






