जाजरकोट : विपन्न समुदायका व्यक्तिहरुले दिनहुँ मास्क किनेर लगाउन असम्भव भएपछि जाजरकोटमा विपन्न र असहाय समुदायका लागि मास्क बैंक स्थापना गरिएको छ ।
कारितास नेपालको कोभिड १९ रेस्पोन्स कार्यक्रम अन्तर्गत ‘ए हजुर तपाईंको माक्स खोई ? ‘ अभियानमार्फत विपन्न समुदायको समस्यालाई ध्यानमा राखी मास्क बैंक स्थापनाको गरीएको हो। यस कार्यक्रमको प्रमुख नारा “हुनेले दिऔं, नहुनेले लिऔं” भन्ने रहेको छ।
सबैसँग सामग्री तथा नगद सहयोग लिएर सञ्चालन गरीएको उक्त कार्यक्रम जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिसँगको सम्पर्क समन्वय र रेखदेखमा मास्क बैंक सञ्चालनमा आएको हो। एक हजार मास्कबाट बैंक स्थापना गरेको र हालसम्म १९ हजार ६ सय ३० नगद र तीन हजार पाँच सय ५० वटा मास्क संकलन गरेको छ ।
त्यस्तै, एक कार्टुन सेनिटाइजर पनि संकलन गरेको छ । मास्क लिनका लागि जिल्लाको भेरी नगरपालिका ४ रामजानकी टोलमा रहेको संस्थाको कार्यालय र नजिकको प्रहरीसँग सम्पर्क राख्न आग्रह गरेको छ।






