जनकपुरधाम : श्रीमतीमाथि एसिड फालेकाे आराेप लागेका सबैला नगरपालकिा–६ का २६ वर्षीय सञ्जीव साह अदालतबाट दोषी ठहर भएका छन्।
जिल्ला अदालत धनुषाले सोमबार आरती साहमाथि एसिड फालेकाे आराेप लागेका उनलाई दोषी ठहर गरेका हुन्।
न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको एकल इजलासले एसिड उपलब्ध गराएका व्यवसायी नगेन्द्र साहलाई भने सफाइ दिएको छ। एसिड प्रहार गरी अङ्गभङ्ग र कुरूप बनाएको मुद्दामा अदालतले एसिड छ्याप्नेलाई दोषी र बेच्नेलाई सफाइ दिएको हाे। अब एक हप्ताभित्रै सजाय निर्धारण हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।
जनकपुरधाम उपमहानगर ७ स्थित डेरामा बसेकी आरती र छोरी रियामाथि सञ्जीवले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए। घटनालगत्तै सञ्जीवलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि सञ्जीवले आफूले निखिल स्टोरबाट एसिड किनेको बयान दिएपछि प्रहरीले स्टोर सञ्चालक नागेन्द्रलाई पनि पक्राउ गरेको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले ०७७ मंसिर २४ मा सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई १५ वर्ष ६ महिना कैद र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने मागसहित जिल्ला अदातलतमा मुद्दा दर्ता गराएको थियो।
आर्थिक अभावका कारण आरतीलाई आमा बुवाले ऋण काढेर उपचार गराएका छन् । विभिन्न दाताले केही सहयोग गरेपनि उपचारमा करिब ३ लाख रुपैयाँ ऋण काढेर तिरेको आरतीकी आमा सुनिता बताउँछिन् । आरती जनकपुरमै तरकारी बेचेर गुजरा चलाउछिन्।






