काठमाडौं : वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारबाही गरिएको छ।
अभियानकर्मी गोविन्द काफ्लेका अनुसार तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौं महानगरपालिकाले नदी किनारमा फोहर फालेका विनोद पानपसल आलोकनगरलाई एक हजार, गरिमा वर्कसप तीनकुनेलाई दुई हजार रुपैयाँ र बानेश्वर क्याफे आलोकनगरलाई ५०० रुपैयाँ जरिवाना गरिएको छ। उक्त जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले गरिमा वर्कसपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न चेतावनी दिएको थियो।
४०३औँ हप्ताको सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूहलगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो।साथै सफाइमा अभिनेत्री नीता ढुंगाना पनि सहभागी भएकी थिइन्।






