काठमाडौं : गुल्मीमा गत आइतबार ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लास्टिकको पाइप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको र त्यस घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गुल्मी रेसुंगा नगरपालिका १, ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका ६ अर्जे घर भएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकै पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठ छन्।
रामप्रसादले आफ्नो घरमा अपरिचित व्यक्तिहरु आई अशान्ति मच्चाइरहेको भन्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय गुल्मीमा निवेदन दिएपछि आवश्यक अनुसन्धानका लागि खटिएको प्रहरीले इश्मा गाउँपलिका ३, दर्लामचौर बस्ने ६४
वर्षीय रामबहादुर कुमाल (मुखिया) लाई आगोले पोली डामी उपचार गर्ने बहानामा खाना खानसमेत नदिई आगोमा तताएको उक्त फलामे वस्तुले डामेपछी सन्चो हुन्छ र आफैं एकछिनमा उठ्छन् भन्दाभन्दै उनको मृत्यु भएको तथा उनका जेठो छोरा ३४ वर्षीय हुमबहादुर मुखिया सामान्य घाइते अवस्थामा फेला परेका छन्।
अभियुक्त श्रेष्ठले रामबहादुरको मृत्यु शंका गरी आफू जोगिनका लागि बहाना बनाई झुटो झै-झगडाको निवेदन दिएको समेत खुल्न आएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।






