Home / Sports / सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलिया जाने तयारीमा

सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलिया जाने तयारीमा

काठमाडौँ ।नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जानुहुने भएको छ । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहनुभएका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ ।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्नुहुने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा हुनुहुन्छ । यसअघि उहाँले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेल्नुभएको थियो । दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताउनुभयो । उहाँले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नुभएको थियो ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा उहाँले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिनुभएको थियो । सिपिएलपछि उहाँ युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आइपिएल)मा सहभागी हुनुभयो । दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्न अवसर पाउनुभएन ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभयो । हाल उहाँ कोरोनाबाट मुक्त अवस्थामा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *