Home / Politics / सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको काङ्ग्रेसको ठहर

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको काङ्ग्रेसको ठहर

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले शासन गर्ने नैतिक र राजननैतिक आधार गुमाएको बताएको छ ।

कांग्रेसले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको आरोप लगाएको हो ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले सिंगो देश कोरोनाबाट आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरित अध्यादेश ल्याएको बताउनुभयो ।

नेपालमा यतिबेला एकसय बढी नागरिक संक्रमित भैसकेको स्थिति छ । सर्वत्र त्रासको अवस्था विद्यमान छ ।

यस्तो विषम परिस्थितिमा कोभिड १९ को नियन्त्रण र निर्मूल गर्न विवेकसम्मत तवरले जिम्मेवार भई कार्य गर्नु पर्नेमा सरकार यसमा पूर्णरुपले असफल भएको छ, सभापति देउवाले भन्नुभयो ।

सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन नसकेको बताउदै उहाँले महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले नभएकोप्रति असन्तुष्टि जनाउनुभयो ।

नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण भएको बताउदै परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेको बताउनुभयो ।

सभापति देउवाले भन्नुभयो ,‘विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै योजना छैन ।

कोरोनाबाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन ।

यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचारका घटना हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन सक्दैनन् ।’

यी विषयहरुलाई नेपाली काँग्रेसले गम्भीरतापूर्वक लिनुका साथै अत्यन्त सुक्ष्म ढंगले विश्लेषण गरी यो सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको ठहर गरेको छ, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *