काठमाडौँ: नेपाल र चीनबीच सीमामा कुनै पनि समस्या नरहेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनु भएको छ। हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताउनु भएको हो।
नेपालको हुम्ला जिल्लाको लिमी उपत्यकामा चीनले नेपालमा घर बनाएको भनेर समाचार सम्प्रेषण भएका छ। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको र त्यहाँको स्थलगत अध्ययनका लागि एक टोली गएको बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले जानकारी दिनु भयो।
उक्त क्षेत्रमा चीनले सीमाभन्दा १ किलोमिटर टाढा चिनियाँ भूमिमा संरचना निर्माण गरेको पनि मन्त्री ज्ञवालीले बताउनु भएको थियो।यसभन्दा अघिपनी यस्तैखालका समाचार सम्प्रेषण भएको रहेछ। त्यतिबेला अन्तरमन्त्रालय छानबिन समिति खडा गरेर त्यसले स्थलगत अध्ययन गरेर आएको प्रतिवेदनमा सिमाबाट एक किलोमिटर टाढा चिनियाँ भूभागमा संरचना बनाएको पाइएको पनि उहाले जानकारी दिनुभयो।
त्यस्तै, रसुवाको तातोपानी नाकामा रोकिएका नेपालका सामग्री आयातका लागि चिनियाँ प्रतिनिधिसँग कूटनीतिक संवादमार्फत समस्या समाधान गरिएको पनि मन्त्री ज्ञवालीले जानकारि दिनुभएको छ। उनले पहिलो चोटिमा बुधबार बीसीजी लगायतका खोप नेपाल ल्याइएको बताउनु भयो। आगामी दिनमा पनि निरन्तर कूटनीतिक माध्यमबाट चीनसँगको सम्बन्ध अगाडि बढाइने उहाँको भनाइ थियो।






