काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले घोषणा गरेको दोस्रो चरणको राहतप्रति गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै नेपाल बैकर्स संघले असन्तुष्टि जनाएकाे छ ।
राष्ट्र बैंकले गत मंगलबार बैंक तथा वित्तीय संस्थाहरुको लागि एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको चौथो त्रैमासको व्याज गणना गर्दा चैत मसान्तमा कायम व्याजरमा २ प्रतिशत बिन्दुले छुट, वैशाख र जेठमा भुक्तानी गर्नुपर्ने किस्ता असार मसान्तमा असुल गर्ने र त्यसमा कुनै जरिवाना नलगाउन निर्देशन दिएको थियो ।
यस्तै लकडाउन अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपुँजी कर्जाको सावाँ र व्याज भुक्तानी अवधि ६० दिन थप गर्नेलगायत विभिन्न सहुलियत घोषणा गरेको थियो ।
राष्ट्र बैंकले घोषणा गरेको केही सहुलियत प्याकेजप्रति बैंकहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालसहित केही बैंकरहरु हालै नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई भेटेर आफ्ना असन्तुष्टिबारे ध्यानाकर्षण गराएका हुन् ।
बैकर्स संघका अध्यक्ष भुवन दाहालले गभर्नरसँगको भेटमा समग्र बैंकिङ क्षेत्रको अवस्थाको विषयमा छलफल भएकाे बताए ।
“राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा पुर्नविचार गर्नुपर्छ भनेर हामीले गभर्नर सरलाई निवेदन गरेका छौं,” अध्यक्ष दाहालले भने “राष्ट्र बैंकले त्यसमा पुर्नबिचार गर्छ भन्नेमा हामी आशावादी छौं।”
यद्यपि उनले राष्ट्र बैंकले आफ्नो हिसाबले साेचेर निर्णय गरेको भएकाले बैंकहरुले त्यसलाई पालना गर्नुपर्ने उनले बताए । “राष्ट्र बैंक बैंकहरुको अभिभावको हाे ।
अभिभावक र छोराछोरीका बीचमा कहिलेकाँही फरक मत हुन सक्छ । तर अभिभावको निर्देशन नमान्ने भन्ने प्रश्न नै आउँदैन” उनले भने ।
छलफलमा गभर्नर अधिकारीले वित्तीय क्षेत्रलाई अहिलेको परिस्थितिबाट जोगाउन आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएको दाहालले बताए ।






