काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जोनसनलाई अस्पतालले डिस्चार्ज गरेको पुष्टि गरेको छ । कोरोना पोजेटिभ पाइएपछि गत आइतबार उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
६ अप्रिलमा आईसीयूमा राखिएका प्रधानमन्त्री जोनसनलाई ९ अप्रिलमा आइसीयूबाट निकालिएको थियो ।
स्वास्थ्य स्थितिमा सुधार हुँदै गए पनि जोनसन केही दिनसम्म काम गर्न असमर्थ रहने बीबीसीले जनाएको छ । २७ मार्चमा बोरिसलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
५ अप्रिलमा उनलाई अस्पताल भर्ना गरिएको हो । उनले आइतबार आफ्नो उपचारमा संलग्न चिकित्सक र नर्सहरुप्रति आभार प्रकट गरेका थिए ।






