Home / World News / पाकिस्तानका सभामुख र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण

पाकिस्तानका सभामुख र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण

इस्लामावाद । पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उहाँका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।   

देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उहाँका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो । 

आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिनुभएको छ । उहाँले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन् । 

उनले लेखेका छन्, “मलाई कोरोनाभाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु ।”

पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । 

कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 

अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ । 

यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको थियो । 

पाकिस्तानमा सवैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ । पञ्जावमा छ हजार २२० जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी छ हजार ५३ जना सिन्ध प्रान्तमा, दुई हजार ३१३ जना खैबर पख्तुन्ख्वामा, ९७८ जना बालुचिस्तानमा, ३३९ जना गिल्गिट बाल्टीस्थानमा, ३१३ जना इस्लामावाद प्रदेशमा र ६६ जना पाकिस्तान नियन्त्रीत जम्मु काश्मिर प्रदेशमा सङ्क्रमितहरु रहेको जनाइएको छ । 

सरकारी तथ्याङ्क अनुसार देशभरी १५० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । ती मध्ये केही चिकित्सक पनि रहेका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका मध्ये पाँच जना स्वास्थ्यकर्मीहरु पनि परेको जनाइएको छ । 

स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पर्याप्त रुपमा उपलब्ध नभएकाले उनीहरुमा सङ्क्रमण फैलिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । – डन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *